
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारबीचको सम्बन्ध प्रगाढ बनाउनु अत्यावश्यक रहेको बताएका छन्।

प्रदेश तथा स्थानीय शासन सशक्तीकरण कार्यक्रम प्रादेशिक इकाईद्वारा धनगढीमा आयोजित अन्तरसम्बन्ध सुदृढीकरण तथा बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले “तीन तहले एकअर्काको अस्तित्व स्विकार गर्ने वातावरण नबने संघीयता नै कमजोर हुन्छ” भन्दै सहकार्यको महत्वमा जोड दिए।

उहाँले बजेट निर्माण प्रक्रियामा हुने दोहोरो त्रुटि र जनगुनासोलाई अन्त्य गर्दै बजेटलाई प्रभावकारी रुपमा निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, हालै सम्पन्न एक साता लामो भारत भ्रमणलाई पनि फलदायी रहेको जानकारी दिनुभयो।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूचीसहित स्वागत मन्तव्य राखेका थिए। छलफल कार्यक्रममा विभागीय मन्त्री, प्रदेशसभा सदस्य, समिति सभापति, मुख्यसचिव, सचिव तथा सुदूरपश्चिम प्रदेशका सबै पालिकाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो।

































