
पाकिस्तानले भारतका तीन प्रमुख सैन्य अड्डाहरू — जम्मू, पठानकोट र उधमपुर — मा मिसाइल आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार आक्रमण प्रयासहरूलाई भारतीय वायु रक्षा प्रणालीले सफलतापूर्वक रोक्दै कुनै पनि जनधनको क्षति हुन नदिएको जनाएको छ।

“हामी भारतको सार्वभौमसत्ता र नागरिकहरूको सुरक्षामा पूर्ण प्रतिबद्ध छौं,” मन्त्रालयको वक्तव्यमा उल्लेख छ, “सबै क्षेप्यास्त्रहरू समयमै रोकिएर निष्क्रिय पारिएका छन्।”

यसबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने उक्त आक्रमणको जिम्मेवारी अस्वीकार गर्दै बीबीसीसँगको अन्तर्वार्तामा भनेका छन्, “हामीले केही गरेका छैनौँ, जब पाकिस्तानले आक्रमण गर्छ, तब सबैलाई थाहा हुनेछ।”

उनको उक्त टिप्पणी जम्मू–कश्मीर क्षेत्रमा लगातार विस्फोट र पूर्ण ब्ल्याकआउटको खबर आएपछि आएको हो। अहिले पनि सीमा क्षेत्रमा तनाव कायमै छ।
































