
कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिरमा आज (बुधबार)देखि गंगादशहरा मेला सुरु हुँदैछ। धनगढी उपमहानगरपालिका–७, रामपुरमा रहेको यस धार्मिक स्थलमा प्रत्येक वर्षझैं यसपटक पनि ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थितिको अपेक्षा गरिएको छ।

बेहडाबाबा मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र मानिन्छ, जहाँ भारतबाट समेत श्रद्धालुहरू पूजाआजा गर्न आउने गरेका छन्। ती श्रद्धालुहरू आफूले उत्पादन गरेको अन्नसमेत मन्दिरमा दान गर्ने परम्परा पालना गर्छन्।

ऐतिहासिक मान्यताअनुसार परापूर्वकालमा त्यहाँ स्वयंभू शिवलिङ्ग प्रकट भएपछि मन्दिर स्थापना गरिएको हो। हाल उक्त शिवलिङ्गको उचाइ झण्डै सात फिट रहेको छ। मौनी अमावस्या, शिवरात्रि र गंगादशहराजस्ता विशेष धार्मिक अवसरहरूमा बेहडाबाबामा दर्शन गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ।

मेलाको तयारीका लागि धनगढी उपमहानगरपालिकाले देवहरिया–बेहडाबाबा मन्दिर सडक खण्डमा सडक बत्ती जडान तथा सडक मर्मतको काम सम्पन्न गरेको छ। कालोपत्र गर्न बाँकी रहेको सडक भाग पनि अस्थायी रूपमा मर्मत गरिएको जनाइएको छ।



















