
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन्।

प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालको प्रारम्भमै, असार ३१ गते पहिलो निर्णयका रूपमा, ३०० दिनभित्र प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए। यसै सन्दर्भमा उनले शनिबार निर्माणस्थलको अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठ लगायत निर्माण कम्पनीका प्रतिनिधिहरूले हालसम्मको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।


प्रधानमन्त्री ओलीले यसअघि वैशाख २२ गते सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र ठेकेदारसँग छलफल गरेका थिए। सो अवसरमा उनले अर्को दुई महिनाभित्र काम सक्न स्पष्ट निर्देशनसमेत दिएका थिए।
प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि दुई फरक ठेकेदार कम्पनीसँग पुस १९ र २२ गते सम्झौता गरिएको थियो।






























