
अत्तरिया: गोदावरी नगरपालिकाले नगरसभाको आयोजना भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तेघरीस्थित पाटर्नर प्यालेसको सभा हल प्रयोग गर्नु कुनै विलासिताको रोजाइ नभई व्यवहारिक आवश्यकता भएको स्पष्ट पारेको छ।


नगरपालिकाका अनुसार, हालको प्रशासकीय भवनमा रहेको सभा हल सानो आकारको हुँदा नगरसभा जस्तो ठूलो सहभागिता रहने कार्यक्रममा सबैलाई अटाउने सुविधा उपलब्ध छैन। प्रत्येक नगरसभामा २०० भन्दा बढी व्यक्तिको सहभागिता हुने भएकाले समुचित व्यवस्थाको लागि वैकल्पिक स्थलको प्रयोग गरिएको हो। यही सन्दर्भमा तेघरीमा पाटर्नर प्यालेसका संचालक भक्त ठकुल्लाले पूर्णरूपमा निःशुल्क हल उपलब्ध गराएका थिए, जसका लागि नगरप्रमुख विरेन्द्र भट्टले उनलाई अबिर र दोसल्ला ओढाएर सार्वजनिकरूपमा सम्मान समेत गरेका छन्।

सामाजिक संन्जालमा नगरपालिका “होटल भाडामा लिएको” भन्ने आशय दिइएको भए पनि यो पूर्णरूपमा भ्रामक र एकपक्षीय प्रस्तुति हो। न त होटल भाडा तिर्नुपरेको छ, न त सार्वजनिक स्रोतको दुरुपयोग गरिएको छ। बरु निजी क्षेत्रको स्वस्फूर्त सहयोगमा नगरसभा सम्पन्न भएको छ, जुन सार्वजनिक–निजी सहकार्यको सकारात्मक उदाहरण हो।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको प्रशासकीय भवनको उपयोग सन्दर्भमा नगरपालिकाले स्पष्ट पारेको छ कि भवनको माथिल्लो तलामा सभा हल बनाउन संरचनागत कठिनाइ रहेका छन्। सो ठाउँमा अहिले पनि सेवा प्रवाहका अन्य काम संचालन भइरहेका छन्। आगामी वर्षहरूमा स्थायी सभाहल निर्माणका लागि योजना तर्जुमा भइसकेको र बजेटमा यसको उल्लेख समेत गरिएको नगर स्रोतले जनाएको छ।
गोदावरी नगरपालिकाको हालको संरचनागत अवस्था, बढ्दो जनसंख्या र सहभागिताका कारण नगरसभा जस्ता औपचारिक कार्यक्रमका लागि वैकल्पिक हलको उपयोग गर्नु बाध्यात्मक भएको प्रस्ट छ। यसलाई सार्वजनिक स्रोतको दुरुपयोगका रूपमा हेर्नु न त यथार्थअनुसार हो, न त सकारात्मक सहकार्यको सम्मान गर्नु हो।
































