
हिन्दू धर्ममा शनिबारको दिन शनिदेवको विशेष आराधना गरिने दिन हो। यस दिनलाई शनिदेवलाई प्रसन्न पार्न सकिने उत्तम अवसर मानिन्छ।

शनि देवता कर्मका प्रतीक हुन्। सूर्यका पुत्र, यमराजका भाइ तथा यमुनाका दाजु शनि न्यायप्रिय देवता हुन्, जसले मानिसले गरेका कर्मअनुसार फल दिन्छन्। कडा परिश्रम, अनुशासन र धार्मिक मार्गमा अडिग रहनेप्रति शनिदेव सदा कृपालु रहने धार्मिक विश्वास छ।
शनिबारको बिहान स्नान गरी शुद्ध वस्त्र लगाएर शनिदेवको पूजा गर्नु लाभदायी मानिन्छ। पिपलको रुखमा जल चढाउने, शनिदेवको मूर्तिमा कालो तिल र तेल अर्पण गर्ने, छालाका जुत्ता वा चप्पल दान गर्ने कार्य पुण्यदायी मानिन्छ।




त्यस्तै, शनिको अशुभ प्रभावबाट बच्न शमीको रुखमा पूजा गर्ने परम्परा छ। हनुमान मन्दिरमा सर्स्युको तेलको दीप प्रज्वलन गरी हनुमान चालीसाको पाठ गर्दा मानसिक शान्ति प्राप्त हुने धर्मशास्त्रमा उल्लेख छ।
यस दिनलाई सेवा, सादगी र श्रद्धासहित आराधनाको माध्यम बनाउँदा जीवनमा शान्ति, स्थिरता र सफलता प्राप्त हुने विश्वास गरिन्छ।



































