
अत्तरिया: सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनको तयारीसहित सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

क्षेत्रीय सहरी विकास आयोजना (RUDP) अन्तर्गत ‘समुदायको सवलीकरण कार्यक्रम’ को अवसरमा आयोजित उक्त कार्यक्रम श्रावण ११ गते गोदावरी–२, तेघरीस्थित पार्टनर प्यालेस रिसोर्टमा सम्पन्न भयो। कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षता रहेको थियो।

उक्त कार्यक्रममा नगर प्रमुख भट्टले फोहोरमैला व्यवस्थापनलाई दीगो र प्रभावकारी बनाउने दिशामा नगरपालिकाले लिएको रणनीति प्रस्तुत गर्दै भने, “विकास जनप्रतिनिधिले मात्र सम्भव छैन, नागरिकको ऐक्यबद्धता अत्यावश्यक छ। टोलटोलमा जनचेतना फैलाएर मात्र व्यवस्थापन प्रभावकारी बन्छ।”


उनले गोदावरी–३ मा अत्याधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना प्रक्रिया अगाडि बढिरहेको जानकारी गराउँदै यसलाई प्रदेशमै नमुना बनाउन नगरपालिकाले तयारी गरेको बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले सरसफाइ र फोहोर व्यवस्थापनलाई गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै स्रोतमै फोहोरको वर्गीकरण अत्यावश्यक रहेको बताए। उनले नगरपालिकाले फोहोर फाल्नेहरूमाथि जरिवाना उठाउने व्यवस्था गरेसँगै टोल विकासमा त्यसको केही अंश छुट्याउने व्यवस्था गरिएको जानकारी गराए।


“फोहोर संकलनका लागि तोकिएको तालिका कडाइका साथ लागू गर्न सकेमा व्यवस्थापन सहज हुन्छ,” प्रशासकीय अधिकृत विनाडीले भने, “त्यस्तै, जैविक मल उत्पादन गरेर कृषिमा अनुदान पाउने समूहलाई उपलब्ध गराइनेछ।”
कार्यक्रममा विद्यालयमा सेनेटरी प्याड वितरणमार्फत विद्यालयस्तरमै फोहोर व्यवस्थापनको अभ्यास गराउने योजना पनि सार्वजनिक गरिएको थियो।
छलफलमा सहभागीहरूमध्ये ‘ग्रिन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रा.लि.’ ले व्यवस्थापन सल्लाहकारको रूपमा, ‘BDA in JV with IJECO Soil Test & Udaya JV’ ले परामर्शदाताको रूपमा र सिचुन प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडले निर्माण व्यवसायीको रूपमा कार्य गरिरहेको जानकारी गराइएको थियो।
तालिम तथा अन्तरक्रियामा गोदावरी नगरपालिका, क्षेत्रीय सहरी विकास आयोजना (RUDP), र अन्य साझेदार निकायहरूको संयुक्त सहकार्य रहेको थियो। कार्यक्रमको सञ्चालन ग्रिन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रा.लिका निर्देशक केशवराज पन्तले गरेका थिए।





























