
देशैभरी दलालहरूको बास हुँदापनि चुप,
देशकै श्रीसम्पती सत्यानाश हुँदापनि चुप।

झोले त झोले आखिर कस्का झोले भनौँ,
नेता सडक र सदनमै तमास हुँदापनि चुप।
सिमाना अतिक्रमण हुन्छ फेरीपनि साख्खै,
बाकसमै फिर्ता युवाको लाश हुँदापनि चुप।

ए सरकार भन्देउ हाम्रो अभिवाबक को हो,
नागरिकलाई दुःखको राश हुँदापनि चुप।
के छ तिम्रो इरादा देशको स्वाभिमान बारे,
देश भाड्ने दुश्मन् आसपास हुँदापनि चुप।
युवा बिहिन भयो देश रोजगार छैन देशमा,
समस्या उस्तै देशको उपहास हुँदापनि चुप।
॥१॥
अन्धविश्वासबाट मुक्त हुन धेरै गारो हुँदो रहिछ,
नयाँ गोरेटो बनाउन पनि त अप्ठारो हुँदोरहिछ।
भन्न सजिलो हुन्छ तर मनभित्रको खाटो उस्तै,
आफैलाई परेपछि जताततै अंध्यारो हुँदोरहिछ।
अरूलाई उक्साउनेहरूको कमिछैन समाजमा,
जसलाई पर्यो त्यो नै आँखाको तारो हुँदोरहिछ।
अन्धविश्वास सुरूहुन्छ दिमाखले भेटाउन छाडे,
आँखाको जालो हटे सि बल्ल उघारो हुँदोरहिछ।
भन्छन् राजनीतिमा जेलपर्ने थाहानै हुँदैन हामि,
जेल जानेपनि आलो पालो र उधारो हुँदोरहिछ।
मानिसको बस्तिमा भएपनि सबैलाई बुझ्न गारो,
राजनीति र अन्धविश्वास बुझ्न सारो हुँदोरहिछ।
॥२॥
आँसुले बन्दैनन् महल पसिना बगाए पछि बन्छ,
विकास गर्ने मन छ भने बाटो समाए पछि बन्छ।
सयौँ फूल फुल्ने बगैचा बनाउँनु छ भने देश यो,
हिमाल पहाड र मदेश मनमै सझाए पछि बन्छ।
भाग्ये खोटो होइन हाम्रो दुश्मन लागेकाले होला,
कुना कुनामा लुकेका दलाल धपाए पछि बन्छ।
देश बनाउनै भए नेपाली वीरहरूले ढिला नगरी,
मिलेर अब शङ्घर्षको बेगुल बजाए पछि बन्छ।

लगाउँ पर्खाल सिमानामा अब त चिनाउ विश्वमै,
खबरदार गर्नलाई यही सडक तताए पछि बन्छ।
पहिलो थियो गणतन्त्रको अभ्यास कम्जोरीभयो,
अब त्यही कम्जोरिलाई मिले सच्चाए पछि बन्छ।
॥३॥
जता हेरौँ उतै देशमा भ्रष्टाचार के भनौँ,
महंगी उस्तै छ विदेशको बजार के भनौँ।
नियम पालना त गर्नैपर्यो नागरिकलाई,
सङ्घीयताले मुर्झाए साहुकार के भनौँ।
मझौला दोकानदारकै पनि हरिबिजोक,
बनायो यो देशनै छाड्ने आधार के भनौँ,
तमासा हुन्छ देशभित्र छैन खै निकास,
जसलाई चुन्यो विदेशी बफादार के भनौँ।
सोझा जनतालाई लाग्छ नियम कानुन्,
सफा देख्छन् नेताले गुनेहगार के भनौँ।
लाग्छ जन्मिएकै छैन की देशमा देशभक्त,
देशलाई बनाउँने देशभित्र औतार केभनौँ।
॥४॥
खै कस्ता कस्ता खपि न सक्ने बिचार आउने गर्छन्,
आफ्नै अगाडि लिएर अनौठो व्यवहार आउनेगर्छन्।
पुराना क्रान्तिकारी गफ र उनै नेता संसदबाट झरेका,
गफैगफमा हाम्रै अगाडी स्वर्गको संसार आउने गर्छन्।
गरू बेचेको साइनो खुटाउन थाल्छन् उनै नेता पुराना,
हिंजो मलाई चिन्दै नचिन्नेहरूमै पनि प्यार आउने गर्छ।
चुनाव नजिकै भएर त होला बोल्दै नबोल्ने दुश्मन झैं,
मलाई खोज्छन हालचाल सोध्न बारबार आउने गर्छ।
एक आना पताएन कहिल्यै बिमार हुँदा छिमेकी नेता,
आज उसकै आदेशमा रासन पनि उधार आउने गर्छ।
नागरिक होसियार हुनै पर्छ आटो ढेडो गुन्द्रुक खाउँला,
खबरदार गाउँमै भात मासु लिएर साहुकार आउने गर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
















