
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।


आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका यात्रुलाई पछिल्लो मौसमी सूचना लिएर मात्र यात्रा तय गर्न मौसम महाशाखाले अनुरोध गरेको छ।

















