
बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको साधारण सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार बाँडफाँट भदौ ५ गते सम्पन्न भएको हो ।

कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका १९६ जना आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी जम्मा १ हजार ९६७ जनाले सेयर प्राप्त गरेका छन् । बाँडफाँटमा नपरेका आवेदकको रकम सम्बन्धित बैंक खातामा फिर्ता गरिनेछ भने परिणाम हिमालयन क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

बुंगल हाइड्रोपावरले जारी पुँजी ८३ करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । सो मध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो ।

आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५०० कित्ता बुंगल नगरपालिका–६ र ७ का स्थानीयलाई तथा २ लाख ९० हजार ५०० कित्ता अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।




















