
धनगढी: शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मान भन्ने मूल भाव बोकेको चैतन्य पाठशालाले हरितालिका तीजको पूर्वसन्ध्यामा दोस्रो तीज विशेष आमा नृत्य प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।

ज्येष्ठ आमा पार्वती बमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख प्रेरक उपस्थितिका रूपमा रहिन्। त्यस्तै कैलाली जिल्ला समन्वय समिति प्रमुख टिकाकुमारी भुल पनि प्रेरक उपस्थितिका रूपमा सहभागी थिइन्।
पाठशालाकी सह–प्रधानाध्यापक सपना सिंहले स्वागत मन्तव्य राखेकी उक्त कार्यक्रममा प्रतिस्पर्धात्मक नृत्यमा अनिता भण्डारी प्रथम, भगवती साउद द्वितीय, दिपा अधिकारी तृतीय र पूर्णिमा खड्का सान्त्वना स्थान हासिल गर्न सफल भए। विजेताहरूलाई क्रमशः रु. ५ हजार, ३ हजार, २ हजार र १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमका निर्णायकमा नृत्य निर्देशक केशव बलायर, खगेन्द्र बिसी र ऋतु सुनार रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख टिकाकुमारी भुलले पछिल्लो समयमा तीजको नाममा विकृति बढिरहेको अवस्थामा चैतन्य पाठशालाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताइन्। उनले शिक्षा र संस्कारको संगम भन्ने नाराले नै चैतन्य पाठशालाले आफूलाई आकर्षित गरेको भन्दै पाठशालाकी अभिभावक हुनु गर्वको विषय भएको उल्लेख गरिन्।
सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले महिलाहरू चुलो–चौको मात्र नभई समाजसँग सक्रिय रूपमा जोडिन थालेको अवस्थामा चैतन्य पाठशालाले गर्ने यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताइन्। उनले चैतन्य पाठशालाको विकासका लागि आफू र मन्त्रालय सधैं तत्पर रहने प्रतिवद्धता समेत जनाइन्।
कार्यक्रमको समापनमा चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले अभिभावकहरूको सहभागिता र सहयोगले पाठशालालाई थप ऊर्जा मिलेको बताउँदै आगामी वर्ष तीज विशेष कार्यक्रमलाई तेस्रो संस्करणका रूपमा अझ भव्य रूपमा आयोजना गरिने घोषणा गरे।






























