
मोरङकी प्रीति देवीको संघर्षको कथा:
कटहरी गाउँपालिका ०१ झझौरा, मोरङकी प्रीति देवी पौदारको जीवन, एउटा सामान्य ग्रामीण महिलाको नाम मात्र होइन, संघर्ष, आँसु, पीडा र अन्ततः विजयको प्रतिरूप हो । बि.स २०४९ सालमा दुलार चन्द पौदारसँग विवाह गरेकी उनी, बिहेपछि सजिलो र सुखमय जीवनको कल्पना गर्थिन्न तर यथार्थ भने त्यसको ठीक उल्टो थियो । श्रीमान लेखापढीको काममा संलग्न थिए, मासिक आम्दानी जम्मा रु.५,००० मात्र, यो रकमले परिवारको खर्च धान्नु त परै जाओस, कहिलेकाहीँ दुई छाक नुन र भात मात्र खाएर दिन गुजार्नुपर्ने अवस्था आइपर्थ्यो ।


आर्थिक अभावले मात्र होइन, सामाजिक दृष्टिकोणले पनि उनलाई थिचिरहेको थियो । गाउँमा गरिबलाई हेर्ने नजरमा अपमान मिसिएको हुन्थ्यो । आफन्तकहाँ गए पनि “माग्न आएको” भनेर नजर घुमाइन्थ्यो । तीन छोरीको जन्मपछि त स्थिति झन् बिग्रियो । श्रीमानको सवारी दुर्घटनाले आम्दानीको स्रोत पूर्ण रूपमा बन्द भयो । अब त केवल आर्थिक मात्र होइन, मानसिक बोझ पनि चुलियो ।
समाजको हेलना, पेटको भोक र भविष्यको अनिश्चितता, यी सबैले उनलाई भित्रभित्रै पोलिरहेको थियो । तर प्रीति देवी भित्र एउटा अडान थियो – केही गर्नुपर्छ । यो अडानले उनलाई बारम्बार सोच्न बाध्य पार्थ्यो, “के गर्न सक्छु ? के बाट सुरु गर्न सक्छु ?” पूँजी नभएकै कारण उनले सुरुमा आमाको एउटा गाई किनेर गाई पालिन तर, सानैदेखि खेतीपाती वा पशुपालनमा खास अनुभव नभएकी उनलाई गाई पाल्नु सजिलो रहेन । धेरै समय र श्रम दिए पनि खास आम्दानी नभएपछि त्यो बाटो छोड्नु पर्यो । त्यसपछि उनले फलफूल बेच्ने काम थालिन सुरुमा केही उत्साहका साथ काम गरिन तर फलफूल चाँडै कुहिने हुँदा घाटा बेहोर्नु पर्यो र यो व्यवसाय पनि छोड्न बाध्य भइन । उनको मनमा भने एउटा सपना बस्थ्यो “कर्मशील हुने” ।

दिदीको नन्दले कपडाको पसल चलाउँथिन् र उनलाई त्यस्तै व्यवसाय मन भयो तर सिकाउनेतर्फ चासो नदिएको देखेर प्रीति केही निराश थिइन्। एकदिन संयोगवश नन्दका श्रीमान घरमा बाँस माग्नको लागी आएका रहेछन्। उनले फेरि आग्रह गरिन “मलाई यो व्यापार सिकाइदिनुहोस, म काम गर्छु ।” उनले स्पष्ट भनिन “मेरो हातमा पैसा छैन, तर अलिकति गहना छ ।” गहना बन्धकी राख्दा करिब रु.५,००० आउँछ भन्ने सुनेपछि नन्दका श्रीमानले सहमति जनाए ।त्यो रु.५,००० नै उनको जीवनको पहिलो वास्तविक पूँजी बन्यो । कपडा किनेर बोरामा राखिन् र फुटपाथमा बिक्री सुरु गरिन, पहिलो दिनमै रु.२,००० को बिक्री भयो । त्यो दिनको खुसी उनी आजसम्म सम्झिरहन्छन “मलाई लाग्यो, अब म बाँच्न सक्छु ।” त्यसपछि उनले हटियातिर पनि व्यापार सुरु गरिन तर गहना राखेर ल्याएको पैसा फिर्ता गर्नुपर्ने थियो, व्यापार विस्तार गर्नुपर्ने थियो र अझै पूँजीको अभाव उस्तै थियो। गाउँमा र.५ रुपैयाँसम्म पनि सापटि नदिनेहरूले ठूलो रकम कसरी पत्याउने ? ब्याज दर पनि सयकडा १० रुपैया थियो, जसले झन चुनौती थप्थ्यो ।


२०६२/६३ सालको मधेश आन्दोलनको समयमा उनको जीवनमा अर्को मोड आयो । गाउँमा छिमेक लघुवित्तको समूह थियो । भाउजु त्यस समूहकी सदस्य थिइन । उनले बारम्बार आग्रह गरिन “तिमी पनि समूहमा बस, लाभ हुन्छ ।” तर प्रीति देवीको मनमा डर थियो—“बचत गर्ने पैसा नै छैन, कसरी बस्ने ?” भाउजुको विश्वास र निरन्तर सम्झाइपछि उनी अन्ततः समूहमा आबद्ध भइन पहिलो ऋण रु। १०,००० पाउँदा उनको मनमा उत्साहको सागर उर्लियो । उनले कपडा किनिन् र पहिलेजस्तै बच्चालाई पिठ्युँमा बोकेर घाम–पानी, चिसो–तातो केही पर्वाह नगरी गाउँ–बजार हिंड्दै बिक्री गर्न थालिन ।
त्यो समय यातायात सजिलो थिएन । अटो चढ्ने कुरा त सोचमै मात्र हुन्थ्यो, उनले पैदल नै ग्राहक भेट्थिन । पेट खाली हुँदा पनि, जुत्ताको तलुवा फाट्दा पनि, उनले बिक्री बन्द गरिनन । उनका आफ्नै शब्दमा—“भोक त सहिन्छ, तर हात बाँधेर बस्दा आत्मा पोल्छ ।” ती कठिन दिनहरूमा आफ्नैले खान नदिएको पीडा अझै उनको मनमा ताजा छ । तर उनी भन्छिन “त्यो पीडाले नै मलाई कर्म गर्न प्ररित गरिरह्यो।” वित्तीय संस्थासँगको कारोबारले उनलाई अनुशासन सिकायो । ऋणको सदुपयोग गर्न सिकिन् र बिस्तारै व्यापार फस्टाउँदै गयो । श्रीमानको स्वास्थ्य खस्कँदै गएको देखेपछि उनले उनलाई जागिर छोड्न र सँगै व्यापार गर्न आग्रह गरिन । यसरी श्रीमान–श्रीमती मिलेर पसल चलाउन थालेपछि व्यापारको गति अझै बढ्यो । कपडामात्र नभई किराना सामान, बच्चाबच्चीका खेलौना समेत बेच्न थाले ।

प्रीति देवीको ईमानदार प्रयास र वित्तीय सहयोगले गर्दा आज उनी दुई ठाउँमा २५ धुर घडेरी किन्न सफल भइन, खरको घरलाई पक्की ढलानको घरमा रूपान्तरण गरिन, छोरालाई बीबीए पढाइरहेकी छिन् भने विवाह भइसकेकी छोरीलाई नर्सिङ पढाइ दिइरहेकी छिन्न फुटपाथबाट सुरु भएको व्यापार अहिले विराटनगर–९, हस्पिटल चोक, रंगेली रोडमा दुई वटा सटरमा फैलिएको छ, जसको मासिक भाडा मात्र रु.५०,००० तिर्छिन ।
बिहान ५ बजे देखि साझ सम्म अत्यन्तै व्यस्त देखिने उनले , सबै खर्च कटाएर वार्षिक लगभग ३ देखि ४ लाख सम्म सजिलै आम्म्दानी गर्छिन । प्रिति देवी पौदार उनको कुरा सुन्दा लाग्छ, यो केवल व्यापारको मात्र कथा होइन, यो मानसिक दृढता, साहस र निरन्तर संघर्षको कथा हो। । उनले भनेकी छिन “सुरुमा कोठा भाडामा बस्नुपर्थ्यो १७ वर्षको उमेरमा जेठी बुहारी भएर आएँ । घरमा सानी छोरी छोडेर साथीहरूसँग खेल्न जान्थेँ, त्यसबेला गाउँले भन्थे-‘कस्ती बुहारी हो ।’ तर आज ती कुरा सम्झिँदा लाग्छ, अरूले भनेको भन्दा ठूलो कुरा हुन्छ, आफ्नो दृढ अडान ।” प्रीति देवीको जीवनले एउटा ठुलो सन्देश दिन्छ-अभावले होइन, डरले मानिसलाई रोक्छ । उनले देखाइदिएकी छिन् कि हिम्मत, अनुशासन र मेहनतले असम्भव देखिने कुरा पनि सम्भव बन्छ । उनी अहिले आफ्ना जस्तै अवस्थाका महिलालाई भन्छिन “तपाईंको हातमा सुन छैन भने पनि, समय र सीप त छ नि । त्यसलाई प्रयोग गर्न सुरु गर्नुहोस बाटो आफैं खुल्छ ।”

आज उनको श्री बागेश्वरी रेडिमेड एण्ड जनरल स्टोर्स केवल पसल मात्र होइन, उनको जीवन यात्रा र आत्मनिर्भरको प्रतीक बनिसकेको छ । गाउँको उही चौर जहाँ कहिले उनले व्यापार गर्न पाइला टेक्न कमजोर मान्थिन, आज त्यही समाज उनलाई गर्वका साथ हेर्छ । फुटपाटमा उम्रेको उनको व्यवसायिक यात्राले ढकमक्क फुलेको फुलबारीको रुपमा स्थापित भएको छ।प्रीति देवी पौदारलाई थप व्यवसायीक सफलाताको शुभकामना|
















