
धनगढीः सुदूरपश्चिमको पहिचान झल्काउने १०औं सुदूरपश्चिम गौरा महोत्सव आज (सोमबार) धनगढीमा सुरु भएको छ। डेउडा प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले एक समारोहका बीच गर्नुभयो।


डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरतबहादुर रावत (डोटेली कान्छा)को सभापतित्वमा सम्पन्न महोत्सव काली–कर्णाली क्षेत्रको मौलिक कला डेउडालाई देश–विदेशमा प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, भाषा–साहित्य, संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण गर्ने तथा युवा पुस्तालाई लोकसंस्कृतिमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको हो, प्रतिष्ठानका महासचिव तोयनाथ भट्टले जानकारी दिनुभयो।
महोत्सवमा विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ।
-
कला–संस्कृति : अछामका साहित्यकार पदमबहादुर धामी
-
स्वास्थ्य सेवा : डा. मेराज आलम अन्सारी (धनगढी)
-
शिक्षा सेवा : जगन्नाथ जोशी (डोटी, शिखर नगरपालिका)
-
समाज सेवा : कल्पना भट्ट (दृष्टि फाउन्डेसन)
त्यसैगरी चल्ले सैइ श्रुति सम्मान – खगेन्द्रराज अवस्थी (कैलाली), परिमल स्नेही समता सम्मान – कमला सिंह मुस्कान (दार्चुला), महाशंकर देवकोटा वाङ्मय सम्मान – बासुदेव पाण्डेय (डडेल्धुरा), हरिश्चन्द्र कडायत साधना सम्मान – सङ्गीता शाह (बाजुरा) र दलबहादुर बोगटी लोक प्रतिभा सम्मान – भीम अधिकारी (डोटी)लाई पनि सम्मान गरिएको थियो।
उद्घाटन समारोहमा गौरा नाच, धुमारी, चैत, शिव–पार्वती–गणेश झाँकी, रनपुतला डेउडा प्रस्तुति लगायत आकर्षक झाँकी प्रस्तुत गरिएका थिए। सोही अवसरमा वरिष्ठ डेउडा गायक केशवराज फुलाराको गीत विमोचन गरिएको थियो।






















