
समृद्ध राष्ट्र निर्माणका लागि सुरु भएको महाकाली -मेची जागरण यात्रा कंचनपुरको गड्डाचौकीबाट सुरु भई चितवन आइपुगेको छ। अभियानको उद्देश्य देशभित्र बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध जनचेतना जगाउनु हो।

यात्रा अवधिभर देशका प्रमुख शहरमा जागरुक कार्यक्रम र यात्रा सञ्चालन हुने योजनामा रहेको छ। अभियानले विभिन्न शहरमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै युवामा आत्मनिर्भरता र उत्पादनमुखी अर्थतन्त्रप्रति जागरुकता फैलाउने बताएको छ। धरानमा नगर प्रमुख हर्क साम्पाङसँग भेट र श्रमदान कार्यक्रममा सहभागी हुने तयारी पनि अभियानले गरेको संयोजक प्रेमराज भट्टले जानकारी दिए।

संकल्प अभियानले विखण्डित वैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने, नयाँ पुस्तालाई नेतृत्वका लागि अघि सार्ने र आम नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य लिएको छ।

अभियानका अगुवा गणेश शाहाले बताएअनुसार, भोलि बिहीवार बिहान नारायणगढको पुल्चोकमा चितवनका आम नागरिक र पत्रकारसँग भेटघाट तथा अभियानबारे जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ।
































