कविताः-‍ गरीब परिवारको छोरो

Image
Nisarga Hospital

म जन्मिएको घर,
भुइँ माटो र छानो परालले बनेको,
जहाँ हावाले ढोकाको पातलो किवाड हल्लाउँथ्यो
र आकाशका तारा छानोभित्र पस्थे।

CP Hospital Dhangadhi

भोकले कतिपल्ट आँसु खसाल्थे,
तर आमाको हातले पकाएको
नुन–पानीको झोल पनि
त्यो बेला राजा–रानीको भोजजस्तै लाग्थ्यो।

बुबाको पसिना
माटोमा मिसिन्थ्यो बिहान–बेलुकी,
उनको काँधमा बोकेको भारी
मेरो बालपनभरि देखिने पाठ्यपुस्तक थियो।

nawajiwan

मैले देखेँ,
भोकले सिकाउँछ धैर्य,
र अभावले जगाउँछ आशा।
मैले बुझेँ,
सपना त त्यही हो
जो आँखाभित्र बोकिन्छ,
न कि पैसाले किनिन्छ।

साथीहरू खेलौना देखाउँथे,
मै त टुक्रिएका इँटाका कार बनाउँथे।
साथीहरू नयाँ किताब बोकेर स्कुल जान्थे,
मै त पुराना पाना सिउरी–सिउरी
भविष्यका पानामा लेख्ने गर्थें।

नाङ्गो खुट्टाले हिँड्दा
बाटोका ढुङ्गाले दुखाउँथे,
तर ती ढुङ्गाहरूले नै
सिकाए
“जीवनमा पीडा सहन सक्नुपर्छ।”

Attariya Hospital

लोग्नेमान्छे बनेर देखेँ,
दुनियाँ अझै फरक छैन।
गरीबीलाई कतिले मजाक गर्छन्,
तर म भित्रभित्रै हाँस्छु
किनकि उनीहरूको विलासीपन
पैसाले बनाएको हो,
मेरो आत्मबल
संघर्षले घडाएको हो।

आज म गर्वले भन्छु
म गरीब परिवारको छोरो हुँ।
मेरो सम्पत्ति हो
आमाको आँसु,
बुबाको पसिना,
आफ्नै अपमानसँगको सम्झौता नगर्ने साहस।

मलाई पैसाको धनी भन्नुपर्दैन,
म त सपनाको धनी छु।
मलाई सिंहासन चाहिँदैन,
म त संघर्षको बाटोमै राज गर्छु।

किनकि,
गरीबी मेरो कारागार होइन,
यो त मेरो डुङ्गा हो
जो आँधीपछाडिको किनारमा
सफलताको गीत सुनाउनेछ।

श्री मालिकार्जुन माध्यमिक विद्यालय धाप,दार्चुला
नाम सन्तोष थापा