
बैतडीः बैतडीको सिगास गाउँपालिका –२ गाँजरी, पिडेगोदा, हराभरा मकैबारी बीचको साँघुरो गोरेटोबाट रातो कपडाले ढाकिएको शव बोकिँदै छ । गाउँका पुरुषहरू ढुङ्गामाटोको बाटोमा भारी बोक्ने जस्तै बोकिरहेका छन् । छेउमै रुदैँ महिलाहरू, आकाशतिर हेर्दै बालबालिका । सात दिन बितिसक्दा पनि त्यो पीडा अझै ताजा छ ।


३४ वर्षीया बेलमती धामीको जीवनयात्रा यत्तिकैमा टुंगियो । चार वर्षअघि जन्डिस रोगले श्रीमानको ज्यान गएको थियो । त्यसपछि पाँच छोराछोरीलाई पाल्ने, पढाउने, घर सम्भार गर्ने सारा दायित्व उनीमाथि थियो । गाउँका हरेक चाडवाडमा बिहान बेलुकी खेतबारीमा पसिना बगाउने–यही बेलमतीको जीवनको रुटिन थियो ।

तर भदौ २२ गते राति उनी आफ्नै भतिजो यज्ञ धामीको हातबाट जीवन गुमाउन पुगिन् । प्रहरीको भनाइ अनुसार रातको अँध्यारोमा सुतिरहेकी बेलमती माथि धारिलो हतियार बन्चरोले प्रहार गरियो । घटनास्थलमै उनको मृत्यु भयो ।


यज्ञ धामी नातामा काकी–भतिजो, सरकारी हुलाक सेवामा कार्यरत । उनका एक छोरा–एक छोरी छन् । श्रीमती केही वर्षदेखि दुवईमा छन् र छोरी मामाघरमा । घरमा ७७ वर्षीया आमासहित उनीहरू बेलमतीकै घरमा बस्दै आएका थिए । बेलमतीले यज्ञका आमा र छोरालाई पनि आफ्नै परिवारजस्तै सम्भाल्दै आएकी थिइन् ।
स्थानीयका अनुसार, “केही दिनदेखि यज्ञको मानसिक अवस्था बिग्रिएको थियो । उपचारका लागि धनगढी गएर तीन दिनअघि मात्रै फर्केका थिए ।” तर कसैले सोचेनन्—फर्किएर यज्ञले आफ्नै काकीको ज्यान लिनेछन् भनेर । अब बेलमतीका पाँच बालबालिका असहाय बनेका छन् । जेठी छोरी कक्षा ९ मा पढ्दै छिन्, बाँकी तीन छोरी र एक भाइको भविष्य कता पुग्ने भन्ने चिन्ता छिमेकीको अनुहारमा देखिन्छ ।
बेलमतीको अन्तिम संस्कार गर्न पनि परिवारसँग पैसा छैन । वडाध्यक्ष ठगेन्द्र सिंह ऐर भन्छन्, “बेलमती मजदुरी गरेर बालबालिकालाई पढाउँदै थिइन् । अब सहारा गुमेका यी बच्चाहरू झनै बिचल्लीमा परेका छन् ।” गाउँको आँगनमा महिलाहरू घेरा हालेर बसेका छन् । कोही रोइरहेका छन्, कोही ढाडस दिइरहेका छन् । आँगनमा खेल्ने बाख्रा, गाईको घण्टी बज्ने आवाज, घाँटी अड्किएको रुवाइ—सबै मिलेर गाँजरीमा असहायताको गहिरो तस्वीर कोर्दैछन् ।
सातौँ दिनपछि पनि बेलमतीका छोराछोरी आमा फर्किएला जस्तो गरेर ढोकातिर हेर्छन् । तर आमा अब फर्किँदैनन् । यो घटना केवल एउटा परिवारको दुःख होइन । यो ग्रामीण समाजको असुरक्षा, मानसिक स्वास्थ्य उपचारको कमजोरी, र राज्यको अभावपूर्ण उपस्थितिको जीवित प्रमाण हो । यदि अहिले नै सहयोगको हात नथापियो भने, यी पाँच साना मुटुहरूको भविष्य कता पुग्ने हो—गाउँलेहरू चिन्तामा छन् । गाँजरीको साँघुरो बाटोमा बोकिएको रातो कपडाको शव केवल एक शव मात्र होइन, गाउँको मर्मस्पर्शी घाउ हो, जसको निको पार्ने जिम्मा अब समाज र राज्य दुवैको हुनपर्छ । मृतक बेलमतीको आज अन्तिम दाहसंस्कार गरिएको छ ।






























