
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनहरूलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत सञ्चालन गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। शनिबार मन्त्रालयमा सम्बन्धित सरोकारवालासँग भएको छलफलपछि निर्णय गरिएको हो।

मन्त्री घिसिङले सुरुङमार्ग प्रयोग र दशैंपछि प्रवेशको व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्न पनि निर्देशन दिएका छन्। बैठकमा सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए।
यातायात व्यवसायीहरूले रात्रिबसलाई दिउँसो चलाउन माग गरे। महासङ्घ अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो र बाढीको अवस्था संवेदनशील भएकोले यो उपयुक्त हुने बताएका छन्।


निर्णयअनुसार, मालबाहक ठूला सवारी साधनलाई बुटवल–नारायणघाट सडकमा दशैं अवधिभर सञ्चालन नगर्न अनुरोध गरिनेछ। आवश्यक खाद्यान्न ढुवानी गर्ने सवारी साधनलाई निरन्तर आवागमनको व्यवस्था हुनेछ।
सडक स्तरोन्नति, अवरोध हटाउने, सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाल प्रहरीलाई निर्देशन, आम नागरिकलाई मौसम र सडक अवस्था अनुसार यात्रा गर्न सार्वजनिक सूचना, र सार्वजनिक सवारीलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने कार्यविधि तयार गर्न यातायात विभागलाई निर्देशन दिइएको छ।
सडकहरूको २४ घण्टा कन्ट्रोल रुम संचालन गरेर मुलुकभरको यातायात निगरानी पनि सुनिश्चित गरिने योजना छ। यसले यात्रुहरूको सुरक्षा, सवारीको सुचारु आवागमन र दशैंमा सहज यातायात सुनिश्चित गर्ने लक्ष्य राखेको छ।































