
पुण्यका नाममा ब्यर्थै,किन पाप कमाउॅछौ?
अर्काको नाम बेचेर, यस्तो दुष्कृत्य गर्दछौ?१।

प्रसन्न कसरी होलीन् देवी आफै तिमी भन।
आफ्नो सन्तानको हत्या, कस्लाई मन पर्छ र!२
देवी हुन् सबकी माता, उन्कै सन्तान हुन् सबै।
कसरी मन पर्ला र, उन्लाई यो कुरा सबै ?३।




आफ्नै सन्तानको हत्या, हुन्छ होला र चाहना।
यस्तो पाखण्ड पालेमा, गर्नु पर्नेछ सामना ।४।
जिब्रोको स्वादकालागि, अर्काको प्राण हर्दछौ।
यस्तो कुकृत्यमा फेरी,देवीको नाम बेच्दछौ।५।
आमाकै रूपमा हुन्छिन्, दुर्गा दुर्गतिनाशिनी।
सबैकालागि ती हुन्छिन्, आमा झैं करुणामयी६
कसरी फेरी ती गर्लिन्, हत्याको पक्षपोषण?
झर्दैनन् ॲासु के तिम्रा,छिन्दा कोमल गर्दन?७।
सोझा निर्बल प्राणीको, हत्या गर्नु अनर्थ हो।
यही नै हो महापाप, यही बाटो अधर्मको।८।
सबैको प्राण हो यौटै, सबैले बॅाच्न खोज्दछ।
क्रूर निर्मम व्यक्तिले, तैपनि प्राण हर्दछ।९।
यस्तो दुष्कृत्यकालागि,माफी को दिन सक्तछ?
यस्को फल सबैले नै अवश्यै भोग्नु पर्दछ ।१०।
अन्धविश्वासको घेरा, सबैले तोड्नु पर्दछ।
आफु बॅाची सबैलाई, बचाई राख्नु पर्दछ।११।
देवीको वास नै हुन्छ, सबैका प्राण प्राणमा।
प्राणहत्या यसैले नि, गर्नु नै हुन्न पर्वमा।१२।
डा. टेकराज पन्त
महेन्द्रनगर कञ्चनपुर

































