
यहाँ यस्तै हुन्छ
जता काफल पाक्छ
चरो त्यतै नाच्छ
पन्चायत कालमा तर मारेको पन्चे
प्रजातन्त्रमा बहुदलको वकालत गर्छ
फेरि तर मार्छ, ढाडिन्छ अनि डकार्छ
आफुलाई अब्राहम लिंकन ठान्छ
यहाँ यस्तै हुन्छ
जता काफल पाक्छ
चरो त्यतै नाच्छ

गरीब, दुखी, निमुखा र पिछडिएकाले
ज्यानको बाजि राखी जनयुद्ध गर्छन्
आन्दोलन गर्छन् गणतन्त्र ल्याउछन
त्यही पन्चे गणतन्त्रको वकालत गर्छ
फेरि तर मार्छ, ढाडिन्छ अनि डकार्छ
आफुलाई लेनिन र माओ ठान्छ
यहाँ यस्तै हुन्छ
जता काफल पाक्छ
चरो त्यतै नाच्छ
बैगुनिले मौका हेरिरहन्छ
जहाँ कमजोरी हुन्छ अनि
रङ्ग फेर्छ सल्बलाउछ
सोच्छ आए आँप गए झटारो
अनि फेरि तर मार्न प्रेरित हुन्छ
यहाँ यस्तै हुन्छ
जता काफल पाक्छ
त्यतै चरो नाच्छ


पन्चायत काल देखि
तर मार्दै आएको
प्रजातन्त्रमा, गणतन्त्रमा
तर मारिरहन्छ, निरन्तर मारिरहन्छ
आज उ ढाडिएको छ, तर
ती निमुखा, गरिब, पिछडिएका
आएन कहिल्यै प्रजातन्त्र , गणतन्त्र
पिल्सिएर, कुल्चिएर, परिवर्तनको आशामा
अझै पनि भनिरहेछन
गणतन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद
यहाँ यस्तै हुन्छ
जता काफल पाक्छ
त्यतै चरो नाच्छ….
✍️ जि.आर. पौडेल






























