
आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईबाट ओमान प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यूएईमा रहेको १६ सदस्यीय टोली नै ओमानतर्फ गएको हो। यसअघि वेस्ट इन्डिजविरुद्धको शृंखलामा निलम्बनका कारण खेल्न नपाएका सन्दीप लामिछाने यसपटक टोलीमा समावेश भएका छन्।


क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै सम्पूर्ण अफिसियलसहितको नेपाली टोली ओमान प्रस्थान गरिसकेको जानकारी दिएका छन्। उनले आगामी विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि खेलाडीलाई हौसला प्रदान गर्न क्रिकेटप्रेमी सबैलाई आह्वान गरेका छन्।
यससँगै क्यानले राष्ट्रिय टोलीप्रति निरन्तर समर्थन र उत्साहजनक सहयोग प्रदान गर्ने सबै क्रिकेटप्रेमी, समर्थक र सरोकारवालाहरूप्रति आभार प्रकट गरेको छ। नेपाली टोलीले छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
































