
विजयादशमीको दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम वर्षाका बाबजुद निरन्तर जारी छ। टीका र जमरा लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म चलेको छ। यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म बडा दसैँ पर्व भव्य रूपमा मनाउँछन्। प्रतिपदाका दिन वैदिक विधिपूर्वक स्थापना गरिएको घडाको अभिषेकपछि टीका–जमरा लगाउने क्रम विजयादशमीको बिहान देवी विसर्जनसँगै सुरु हुन्छ।

सदस्यहरू कामले टाढा रहेका कारण कोजाग्रत पूर्णिमासम्म टीका लगाउन आउनेहरू पनि छन्। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाइन्छ।

यस वर्ष असोज १७ गतेदेखि निरन्तर वर्षा भएकोले मान्यजनकहाँ जाने तालिका प्रभावित भएको छ। सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाइएको छ।































