आफ्ना छोरा-छोरी को नाम
राजकुमार-राजकुमारी राख्ने ।
आफ्नो श्रीमतीलाइ रानी भन्ने
आफ्नो श्रीमानलाइ राजा भन्ने ।

राजालाई सर्वशक्तिमान र उपल्लो ठान्ने
आफ्नो मान्छे राजा हुनुपर्छ भन्ने ।
आफू राजा हुनुपर्छ ठान्ने
तर देशको राजा हुनु हुँदैन भन्ने ।
अचम्मको बिरोधाभाषमा
जकडिएको हाम्रो देश र समाज!

अरुलाइ `राम्रो´ भन्न नजान्ने
आफू `राम्रो´ बन्न नजान्ने ।
आफुले गरेको सधैं `राम्रो´
अरुले गरेको सधैं `नराम्रो´ ।
आफू हुँदा सबै `ठीक´
अरु हुँदा सबै `बेठिक´
हुने उही,
गर्ने उस्तै ।
भन्ने र ठान्ने मात्रै फरक-फरक।
अग्रगामी नेपालीको पश्चगामी परिभाषा ।
✍️ केशव जोशी श्री महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाका शिक्षक हुन् ।