
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको सञ्चार क्षेत्र सशक्त बनाउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताएका छन्। धनगढीमा आयोजित ‘सार्वजनिक उत्तरदायित्व प्रवद्र्धनका लागि असल अभ्यास’ सम्बन्धी एफएम रेडियोकर्मी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सञ्चारकर्मीको संरक्षण, क्षमता अभिवृद्धि र विश्वसनीय सञ्चार प्रणाली निर्माण प्रदेश सरकारको प्राथमिकता भएको स्पष्ट गरे।

उनका अनुसार सामाजिक सञ्जालको द्रुत प्रभावका कारण परम्परागत सञ्चार माध्यम दबिँदै जानु चिन्ताजनक रहेको छ। “विश्वसनीय र भरपर्दो सञ्चार क्षेत्र निर्माणमा सरकार प्रतिबद्ध छ,” उनले भने।
मुलुक जोगाउने दायित्व सञ्चारकर्मीको काँधमा रहेको उल्लेख गर्दै शाहले राज्यले सञ्चार क्षेत्रको प्रवद्र्धनमा अझै धेरै गर्न बाँकी रहेको स्वीकारे। आम सञ्चार नीतिको अन्तिम चरणमा छलफल भइरहेको जानकारी उनले दिए।
विकासका काममा देखिने ढिलासुस्ती र अवरोध हटाउन संस्थागत संरचना सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले सामूहिक आवाज र पहल अनिवार्य रहने बताए।



























