
उद्दब सिंह/ बैतडीः बैतडी जिल्ला द न पा–१ गुरुखोला, कलौं–लम्खेतस्थित निगलासैनी दुधकुण्ड धार्मिक आस्था, परम्परा र चमत्कारिक विश्वासका कारण अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ। यहाँ स्नान गरेपछि मात्र धार्मिक यात्रा सुरु गर्ने परम्परा रहेको छ। कुण्डको पवित्र जल बोकेर निगलासैनीमा जलाभिषेक गर्ने र दुधकुण्डमै पकाइने दूध हविसा (खीर) चढाइ प्रसाद ग्रहण गर्ने प्रचलन आज पनि जीवित छ।

स्थानीय विश्वास अनुसार देहिमाण्डौमा लिङ्ग स्नान गर्दा दुधकुण्ड धाराबाट दूध निस्कने चमत्कारिक घटना देखिने उल्लेख पाइन्छ, जसले यस क्षेत्रको धार्मिक महत्त्व झनै बढाएको छ।

यसबाहेक धार्मिक, सांस्कृतिक र ऐतिहासिक प्रमाणहरूले दुधकुण्डलाई पर्यटनका दृष्टिले पनि आकर्षक गन्तव्य बनाउने क्षमता राख्छन्। तर पर्याप्त यातायात सुविधा नहुनु, आधारभूत संरचनाको कमी र प्रचार–प्रसारको अभावका कारण यो पवित्र स्थल अझै ओझेलमा परेको छ।

स्थानीयवासीले दुधकुण्डलाई राष्ट्रिय स्तरमा चिनाउने पहल बढाउन सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।































