
बझाङः केदारस्यु गाउँपालिकाका कर्मचारीहरूले वडा सचिव अमर भण्डारीमाथि हाल प्रचलित कानुनी अधिकारभित्र काम गर्ने क्रममा विभिन्न दबाब र हस्तक्षेप भएको भन्दै मिति २०८२।०८।०४ मा संयुक्त विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि अमर भण्डारी, जो जिल्ला प्रशासन कार्यालय बझाङ्गमा खरिदार पदमा कार्यरत रहँदा स्थानिय तहमा समायोजन भएका थिए, आफ्नो दायित्व निर्वाह गर्दै स्थानीय सरकार संचालन ऐन २०७४, कर्मचारी समायोजन ऐन २०७५ र सुदूरप्रदेश स्थानिय तह गठन संचालन ऐन २०८२ को मर्म अनुसार काम गर्दै आएका छन्। तर, विभिन्न व्यक्ति र निकायबाट दबाब दिइएको, साथै प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले फोनमार्फत कार्यालयमा उपस्थित नभए प्रहरीले हाजिर गराइने धम्की दिएको आरोप लगाएका छन ।
कर्मचारीहरूले यसलाई निन्दनीय दादागिरी र कानुनी अधिकारमाथि हस्तक्षेपको रुपमा लिएका छन्। विज्ञप्तिमा पीडित अमर भण्डारीमाथि मानसिक तनाव र मनोबल घटेको, साथै नियमित सेवाप्रवाहमा असर परेको जनाइएको छ। कर्मचारीहरूले भविष्यमा यस्ता घटनाहरू नदोहोर्याउन, कार्यस्थलमा सहज वातावरण सिर्जना गर्न र जिम्मेवार निकायले आवश्यक कदम चाल्न जोडदार माग गरेका छन्।

साथै, आवश्यक सुधार नहुँदा सेवाप्रवाह रोक्ने र संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको चेतावनी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। यस विज्ञप्ति राष्ट्रिय पञ्जीकरण तथा पञ्जीकरण सेवा विभाग, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सबै निकायलाई पठाइएको छ।

केदारस्यु गाउँपालिकाले यस घटनाले पारदर्शिता, प्रशासनिक अनुशासन र कर्मचारीको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छ।
प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले फोनमार्फत बुझ्दै जादा सरुवा भएका उक्त ब्यक्ती केदारस्यु गाउँपालिका वडा न ४ को वडा कार्यालयमा हुदै गर्दा सामान्य कुरालाई अति रन्जित गर्दै गरेको र सम्झाई बुझाई गर्दा ठुलो देखाएको बताएका छन । साथै वडा सचिव अमर भण्डारीलाई उक्त पालिकाले नै सेटेलमेन्ट गर्नु पर्ने ठाउँमा सम्झाई बुझाई गरेको मात्र बताएका छन भने उक्त ब्यक्तीका कारण सेवाग्राहीले दुःख पाएको समेत जिल्ला प्रशासन कार्यालयमा जन गुनासो आएको र मानसिक संन्तुलनमा समस्याका कारण सेवाग्राही दुःखित भएको समेत बताएका छन ।


































