
चाडपर्व तथा घरायसी काम सकेर फर्किएका नेपालीहरू पुनः रोजगारीको खोजीमा भारततर्फ लाग्ने क्रम तीव्र बनेको छ। कैलालीको त्रिनगर नाकाबाट दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू भारत प्रवेश गरिरहेका छन्।

चाडपर्वसँगै खेतीपातीका काम पूरा भएपछि धेरैजसो नागरिक रोजगारीका लागि भारत फर्किन थालेका हुन्। त्रिनगर सीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार पछिल्लो एक सातामै ३ हजार ७०१ जना नेपाली भारततर्फ गएका छन्।
अछामको रामारोशनका मङ्ल परियारले नेपालमा रोजगारीको अभाव र न्यून आम्दानीका कारण भारत जान बाध्य हुनुपरेको बताए। “यहाँ रोजगारी पाउन गाह्रो छ, पाए पनि कमाइले घरखर्च धान्न मुस्किल पर्छ,” उनले भने।
त्यस्तै चुरे गाउँपालिकाका झलक साउदले घरायसी काम सकेर पुनः रोजगारीका लागि भारत फर्किएको बताए। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर तथा पहाडी जिल्लाबाट मुम्बई, दिल्ली, पिथौरागढ, नासिक, पञ्जाब, अहमदाबादलगायत सहरमा नेपालीहरू रोजगारीका लागि जाने गरेका छन्।





























