
बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाउने घटनाले बर्सेनि डरलाग्दो रूप लिँदै गएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्ला तीन आर्थिक वर्षको अवधिमा मात्रै ५२ जनाले घाँस काट्ने क्रममा ज्यान गुमाइसकेका छन्। यीमध्ये अधिकांश महिलाहरू रहेका छन्, जसले ग्रामीण समाजमा महिलामाथि पर्ने जोखिम र असुरक्षालाई उजागर गरेको छ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा २१ जना, २०८०/८१ मा १३ जना र २०८१/८२ मा १४ जनाको भीरबाट लडेर मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म मात्रै चार जनाको ज्यान गएको छ। यो संख्या जोड्दा २०७९/८० देखि हालसम्म घाँस काट्ने क्रममा मृत्यु हुनेको संख्या ५२ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
मंगलबार मात्र मेलौली नगरपालिका–२ सलेनाकी ७२ वर्षीया लक्ष्मी भट्टको घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको छ। बिहान स्याउला काट्न भनी घर नजिकैको जंगल गएकी भट्ट नफर्केपछि खोजी गर्ने क्रममा दिउँसो करिब ४ बजेतिर स्थानीय ल्वापा भीरबाट लडेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
बैतडीका ग्रामीण भेगमा पुरुषहरू ज्याला–मजदुरीका लागि बाहिर जाने र महिलाहरू घरधन्दा तथा घाँस काट्ने काममा सीमित हुने परम्परा अझै बलियो छ। महिलाहरू दिनहुँ ठूला–ठूला भीर र जोखिमपूर्ण जंगलमा घाँस काट्न बाध्य छन्। तर, त्यस्ता स्थानमा जाँदा कुनै पनि सुरक्षात्मक उपाय अपनाइँदैन।
प्रहरीका अनुसार वास्तविक मृत्यु संख्या अझै बढी हुन सक्ने अनुमान छ। घाँस काट्ने क्रममा लडेर मृत्यु भएका सबै घटनामा प्रहरीलाई जानकारी नआउने, कतिपय अवस्थामा आफन्तले खबर नगरी दाहसंस्कार गर्ने भएकाले तथ्यांक अपूर्ण रहेको बताइएको छ। यो अवस्थाले ग्रामीण महिलाको सुरक्षाका लागि तत्काल प्रभावकारी उपाय आवश्यक रहेको स्पष्ट देखिन्छ।





























