अत्यधिक चिसो र शीतलहरको असर, कृष्णपुर नगरपालिकामा दुई दिन विद्यालय बन्द

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अत्यधिक चिसो र शीतलहरका कारण दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विगत केही दिनदेखि तापक्रम घट्दै जानु, हुस्सु र कुहिरो बाक्लिनुका साथै दिनभरि चिसो हावा चल्न थालेपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय लिएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते पठनपाठन बन्द रहनेछ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले प्रतिकूल मौसमका कारण पठनपाठनमा प्रत्यक्ष असर पर्न थालेपछि नगरप्रमुखस्तरीय निर्णयअनुसार बिदा दिने निर्णय गरिएको जानकारी दिए। उनले अत्यधिक चिसोका कारण विद्यार्थीमा रुघाखोकी, ज्वरो लगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गरिएको बताए।

Attariya Hospital

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनले जनजीवन प्रभावित बनेको छ। बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने, घाम नलाग्ने तथा दिनभरि शीतलहर चल्ने अवस्थाले सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ भएको छ। विशेषगरी बिहानै विद्यालय जाने साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

nawajiwan

नगरपालिकाले अभिभावकहरूलाई बालबालिकालाई न्यानो कपडा लगाउने, चिसोबाट जोगिने उपाय अपनाउन र मौसम सुधार नहुँदासम्म आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम अनुकूल भएपछि नियमित पठनपाठन पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।