सुदूरपश्चिममा एक महिनामै ३१ जनाद्वारा आ!त्मह!त्या, अ!प!रा!ध, दु!र्घटना र ला!गुऔ!षधका घ!टना बढ्दो

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना चिन्ताजनक रूपमा बढ्दै गएका छन्। पछिल्लो मंसिर महिनामा मात्रै प्रदेशभर ३१ जनाले आत्महत्या गरेका छन्। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आत्महत्या गर्नेमा १७ जना पुरुष, ९ जना महिला, २ बालक र ३ बालिका रहेका छन्। प्रदेश प्रहरी कार्यालयले आइतबार धनगढीमा आयोजना गरेको कार्यसम्पादनसम्बन्धी पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले प्रस्तुत गरेको विवरणअनुसार मंसिर महिनामा २९ जनाले झुण्डिएर तथा २ जनाले विष सेवन गरी ज्यान गुमाएका हुन्। आत्महत्या गर्नेहरूमध्ये १० देखि २० वर्ष उमेर समूहका मात्रै ११ जना रहेको तथ्यांकले किशोर–किशोरी र युवावर्गमा मानसिक स्वास्थ्यको समस्या गहिरिँदै गएको संकेत गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

एक महिनामै २५६ वटा विभिन्न प्रकृतिका अपराध

मंसिर महिनामा प्रदेशभर ज्यानसम्बन्धी ३०, चोरीका १३, संगठित अपराधका ५८, सामाजिक अपराधका ३६, महिला तथा बालबालिकासम्बन्धी २५, सवारी ज्यानसम्बन्धी १६ र अन्य ४७ गरी कुल २५६ वटा घटना दर्ता भएका छन्। यसै अवधिमा हातहतियारसम्बन्धी २, मानव बेचबिखनसम्बन्धी १, बैंकिङ कसुरका ४२, ठगीका २ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका छन्।

५२४ जना प्रतिवादी पक्राउ, हजारौं मुद्दा पेन्डिङ

प्रहरी उपरीक्षक मिश्रका अनुसार चालु अवधिमा ५२४ जना प्रतिवादी पक्राउ परेका छन्। चालु मुद्दाका २१४ जना प्रतिवादी पक्राउ भइसकेका छन् भने ८१ जना अझै फरार छन्। यस अवधिमा ११४ वटा मुद्दा फर्छ्यौट भएका छन् भने २ हजार ५ सय ३८ वटा मुद्दा अझै पेन्डिङ अवस्थामा रहेका छन्।

महिला तथा बालबालिकासम्बन्धी उजुरी बढ्दो

एक महिनामै महिला तथा बालबालिकासम्बन्धी २८ वटा उजुरी दर्ता भएका छन्। घरेलु हिंसासम्बन्धी ८० उजुरीमध्ये ६५ वटा मुद्दा मिलापत्रबाट समाधान गरिएको छ भने ८ वटा मुद्दा अदालत पठाइएको प्रहरीले जनाएको छ। यस अवधिमा प्रदेशभर ९४ जना व्यक्ति बेपत्ता भएकोमा ४९ जनाको खोजी गरी परिवारसँग पुनर्मिलन गराइएको छ। प्रहरीमा परेका ८११ ठाडो उजुरीमध्ये ७५७ वटा फर्छ्यौट गरिएको छ।

लागुऔषध, दुर्घटना र अवैध कारोबार

मंसिर महिनामा लागुऔषधसम्बन्धी ५६ वटा मुद्दा दर्ता भई १ किलो २३१ ग्राम गाँजा, २७ किलो ५८१ ग्राम चरेस र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, प्रदेशभर १३० वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २९४ जना घाइते भएका छन्। प्रहरीका अनुसार १२० वटा दुर्घटना सवारी चालकको लापरवाहीका कारण भएका हुन्। यस अवधिमा ३ हजार २ सय ८० सवारी साधन कारबाहीमा परेका छन्।

अवैध हतियार, मदिरा र तस्करी नियन्त्रण

मंसिर महिनामा प्रहरीले ११ नाल बन्दुक, २ वटा गोली, २ डब्बा बारुद, ३१ बट्टा सानो छर्रा, २ बट्टा सलाइ र १ वटा केप बरामद गरेको छ। ९५ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। यसैगरी २ सय लिटर अवैध मदिरा बरामद गरिएको छ भने अवैध वन पैदावार चोरी निकासीमा संलग्न ७ जनालाई पक्राउ गरी १ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ।

आत्महत्या र अपराध नियन्त्रणका लागि विशेष योजना

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले लागुऔषध नियन्त्रणका लागि प्रदेश सरकारसँग सहकार्य गरी विशेष योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए। आत्महत्या, सामाजिक अपराध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए।