
तत्कालीन रैकवार बिचवा हालको कृष्णपुर नगरपालिका वडा न ८ मा जन्मिएका किर्तिमानी खेलाडी ओलम्पियन दिपक बिस्टलाई कृष्णपुर नगरपालिकाको सद्भावना दुत नियुक्त गरेको छ । सोमबार कन्चन माध्यमिक विद्यालयमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल समारोहमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले सद्भावना दुत नियुक्त गरेको पत्र सोमबार बिस्टलाई हस्तान्तरण गरेका हुन । सोही कार्यक्रममा बिस्टलाई खेलकुदको माध्यमबाट कृष्णपुरको लागि विश्वसामु पुर्याएको भन्दै सम्मान पनि गरिएको छ ।

सद्भावना दुत नियुक्तपछि ओलम्पियन दिपक बिस्टले आफ्नो जन्मभूमि रैकवार बिचुवा, कञ्चनपुरमा यसरी सम्मानित हुन पाउँदा म अत्यन्तै खुशी र गौरवान्वित भएको बताएका छन् । उनले भने ती दिनहरू र मलाई खेलकुदको बाटो देखाउने, सिकाउने तथा आफ्नै सन्तानझैँ माया गरेर हुर्काउने मेरा खेल शिक्षकहरू आज पनि मनमा ताजा छन्।

आज म जहाँ छु, यो सबै मेरो जन्मभूमिको माटो र यहाँका जनताको अपार माया, आशिर्वाद र निरन्तर समर्थनको परिणाम हो। आज जन्मभूमिको सद्भावना दूतको रूपमा नियुक्त गर्नुभएकोमा नगर प्रमुख श्री हेमराज ओझा ज्यूलगायत सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। उनले आफूले सक्ने सबै सहयोग यस क्षेत्रको खेलकुद विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


































