
सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा केही दिनयता बाक्लो हुस्सु लागिरहेकाले जनजीवन प्रभावित बनेको छ। हुस्सुसँगै चिसो बढ्दै जाँदा तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ। मौसम विज्ञानका अनुसार बिहान र साँझको समयमा हुस्सु बाक्लिँदा चिसोको प्रभाव अझ तीव्र देखिएको छ।


महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगम चौधरीका अनुसार अत्तरिया क्षेत्रमा आज बेलुका ५ः४५ बजे अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियस मापन गरिएको छ। त्यसैगरी न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ, जुन यस वर्ष अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो।

हुस्सु र चिसोका कारण सवारी साधन सञ्चालनमा समस्या देखिनुका साथै दैनिक कामकाजमा समेत असर परेको स्थानीयले बताएका छन्। विशेषगरी बिहानको समयमा सडकमा दृश्यता कम हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी केही दिनसम्म हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
































