
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको स्मरणमा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे श्रद्धा, आस्था र उत्साहका साथ मनाइरहेका छन्। धार्मिक विश्वासअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिनु भएका येशु ख्रीष्टले मानव समाजलाई तीन महत्वपूर्ण उपहार—मुक्ति, प्रेम र शान्ति—दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए। उनका अनुसार मानिसलाई प्रेम गर्न सिकाउन आएकाले आजको दिनलाई प्रेम दिवस, संसारमा शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा मनाइने गरिन्छ।
विश्वका धेरै देशमा क्रिसमस परम्परागत रूपमा मनाइँदै आए पनि नेपालमा भने विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासङ्घले यसलाई महोत्सवको रूपमा मनाउन थालेको अध्यक्ष गहतराजले जानकारी दिए। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ, जहाँ सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।



नेपालमा विसं २०६३ देखि २०७४ सम्म क्रिसमस डे सार्वजनिक बिदाका रूपमा मनाइँदै आएको थियो। त्यसपछि केही वर्ष क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइए पनि विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।
पछिल्ला वर्षहरूमा ठूला सहर र पर्यटकीय क्षेत्रमा क्रिसमस ट्रि, बत्ती र सजावटले सहर झकिझकाउ बनाउने गरिएको छ। विशेषगरी ठमेल, बौद्ध, पोखरा र सौराहाजस्ता क्षेत्रमा क्रिसमसको उत्साह बढी देखिन्छ। महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्।


































