
कैलालीको अत्तरियामा पुस ९ गतेदेखि सुरु भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आजदेखि थप उत्साहपूर्ण बन्दै जाने भएको छ। महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन समारोह सम्पन्न भएको थियो भने दोस्रो दिनदेखि राष्ट्रिय तथा स्थानीय कलाकारका आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजक न्यु सृजनशील युवा क्लबले जनाएको छ।

आज हुने कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र लोकप्रिय गायक रमेश राज भट्टराईले आफ्ना प्रस्तुति राख्नेछन्। साथै स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कलाकार मनोज धामी, लक्ष्मी राना, ऐश्वर्या विष्टलगायतका कलाकारले पनि दर्शकलाई भरपूर मनोरञ्जन दिने तयारी गरेका छन्। महोत्सवका कलाकार संयोजक शेरबहादुर बोहराका अनुसार हरेक दिन फरक–फरक सांस्कृतिक प्रस्तुति समेटेर दर्शकको रुचिलाई ध्यानमा राखिएको छ।

‘सुदूरपश्चिमको मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान’ भन्ने नाराका साथ सञ्चालन भइरहेको यस महोत्सवले स्थानीय कला, संस्कृति, खानपान तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न प्रदर्शनी, व्यापारिक स्टल तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिएका छन्। आयोजकले महोत्सवमा सहभागी भई स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
































