शिक्षामा नयाँ आयाम थप्दै CCS स्कुलले गर्यो निजि भवनको उद्घाटन

Image
Nisarga Hospital

धनगढीको रातोपुल क्षेत्रमा अवस्थित क्रेसेन्ट सिटी स्कुल, धनगढी ले आफ्नै निजी तथा सुविधा सम्पन्न भवनको औपचारिक रूपमा उद्घाटन गरेको छ। सरस्वती पूजाको पावन अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. लोक बहादुर बिष्ट ले नयाँ भवनको उद्घाटन गर्नुभएको हो।

CP Hospital Dhangadhi

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि रेग्मी ले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. बिष्टले शैक्षिक संस्थाले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै क्रेसेन्ट सिटी स्कुलले त्यस दिशामा उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक भवनले विद्यार्थीको सिकाइ वातावरण अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि रेग्मीले क्रेसेन्ट सिटी स्कुल धनगढीकै उत्कृष्ट तथा सुविधा सम्पन्न विद्यालयको रूपमा स्थापित हुँदै गएको बताउँदै पछिल्लो समय शिक्षामा नयाँ नयाँ आयाम थप्दै अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तरका साथै नैतिकता, अनुशासन र संस्कारलाई पनि समान महत्व दिँदै आएको छ।

विद्यालयका प्रधानाध्यापक अर्जुन नाथले विद्यालयको शैक्षिक दर्शनबारे जानकारी गराउँदै क्रेसेन्ट सिटी स्कुलले गुणस्तरीय शिक्षा, संस्कार, प्रविधि तथा खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। नयाँ तथा आधुनिक भवनमा विद्यार्थीले अध्ययन गर्न पाउने वातावरण तयार भएकोले सिकाइ प्रक्रिया अझ प्रभावकारी हुने उहाँको भनाइ थियो। कार्यक्रममा विद्यालयका संचालक समिती सदस्य एवम शिक्षक दिपेन्द्र शाहले नयाँ भवनले शिक्षक – विद्यार्थी दुवैका लागि प्रेरणादायी वातावरण सिर्जना गरेको बताउनुभयो। उनका अनुसार “सुविधा सम्पन्न र आधुनिक भवनमा अध्यापन–अध्ययन गर्न पाउँदा विद्यार्थीको सिक्ने चाहना बढ्छ भने शिक्षकलाई पनि अझ जिम्मेवार र सृजनशील भएर पढाउन उत्प्रेरणा मिल्छ । विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, प्रविधिमैत्री र जीवनोपयोगी बनाउँदै लैजानु प्रशंसनीय कुरा हो।”


वि.सं. २०५७ सालमा स्थापना भएको उक्त स्कुलमा हाल नर्सरीदेखि कक्षा १२ सम्म करिब १८०० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयहरू समेत अध्यापन हुँदै आएका छन्। अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाको टिम, आधुनिक शैक्षिक प्रविधि र सह-पाठ्यक्रम गतिविधिका कारण विद्यालय अभिभावक र विद्यार्थीबीच लोकप्रिय बन्दै गएको छ।

नयाँ भवनको उद्घाटनसँगै विद्यालयले शैक्षिक यात्रामा अर्को महत्वपूर्ण फड्को मारेको विद्यालय परिवारको विश्वास छ। शिक्षा क्षेत्रमा निरन्तर नवप्रवर्तन गर्दै समाजका लागि सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यसहित विद्यालय अघि बढिरहेको बताइन्छ ।