
हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली देखिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसैगरी पूर्वी तथा मध्य तराईका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।






























