
सशस्त्र प्रहरी बल (एपीएफ) सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडी ‘उत्कृष्ट गुल्म’ घोषित भएको छ। साथै गुल्म प्रमुख डीएसपी जंगबहादुर कुँवर प्रदेशकै ‘उत्कृष्ट कमाण्डर’ घोषित भएका छन्।

सशस्त्र प्रहरीले २०८२ सालमा प्रदेशका छ वटा गुल्मले सम्पादन गरेका कार्यहरूको समग्र मूल्यांकनका आधारमा बैतडी गुल्मलाई उत्कृष्ट ठहर गरेको हो। सीमा सुरक्षा, सीमापार अपराधको रोकथाम तथा नियन्त्रण, आन्तरिक प्रशासन, राजस्व संकलन, भन्सार छली नियन्त्रण लगायतका क्षेत्रमा देखाएको प्रभावकारी कार्यसम्पादनका कारण गुल्म उत्कृष्ट बनेको जनाइएको छ।

यस्तै संगठन परिचालन, नेतृत्व क्षमता, कमाण्डिङ दक्षता, नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुदृढीकरण तथा सीमा अनुगमनमा उल्लेखनीय योगदान पुर्याएको आधारमा डीएसपी कुँवरलाई उत्कृष्ट कमाण्डरको सम्मान प्रदान गरिएको हो।

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा धनगढीमा आयोजित विशेष कार्यक्रममा ५१ नं गुल्म बैतडी र डीएसपी कुँवरलाई प्रदेशस्तरीय उत्कृष्ट गुल्म र कमाण्डर घोषणा गरी औपचारिक रूपमा पुरस्कृत गरिएको गुल्मले जनाएको छ।































