
कैलालीको गोदावरी नगरपालिकामा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। आइतबार बिहान गोदावरी नगरपालिका–८ स्थित शारदा विद्या निकेतनको से १ क ६०४ नम्बरको स्कुल बसको ठक्करबाट सोही वडाको शान्तिटोल निवासी कृष्ण भुलका तीन वर्षीय छोरा नेहान्त भुलको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नेहान्त आफ्नी दिदीलाई विद्यालय पुर्याउन आमासँगै गएका थिए। आमाले दिदीलाई विद्यालय भित्र्याइरहेको बेला नेहान्त पछिपछि सडकतर्फ निस्किएका थिए। सोही क्रममा विद्यार्थी बोकेर अगाडि बढ्दै गरेको स्कुल बससँग ठोक्किँदा बालक सडकमा खसेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार बसको ठक्करपछि कालोपत्रे सडकमा टाउको ठोक्किँदा नेहान्त गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि बस चालक वीरबहादुर विकलाई नियन्त्रणमा लिइएको छ भने बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































