
अत्तरिया: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सहभागी र्याली तथा क्षेत्रीय निर्वाचन सचिवालयको भेलाका क्रममा अत्तरियामा चोरीको घटना भएको छ। भीडभाडबीच धनगढी उपमहानगरपालिका–१ का दिलीप सिजापतिको घाँटीमा लगाइएको झण्डै डेढ तोलाभन्दा बढी तौलको सुनको सिक्री चोरी भएको हो।

पीडित सिजापतिका अनुसार र्याली र भेलाको क्रममा कसैले घाँटीमा हात लगाउँदै सुनको सिक्री लुटेको हो। घटनापछि उनले इलाका प्रहरी कार्यालय, मालाखेतीमा पुगेर डीएसपी रणबहादुर चन्दलाई जानकारी गराउँदै खोजतलासको माग गरेका छन्। साथै, हराएको सिक्री फेला पार्न सर्वसाधारण र पार्टी कार्यकर्ताहरूलाई सहयोगको अपिलसमेत गरिएको छ।
सिजापतिले सिक्री फेला पार्ने वा स्वेच्छाले बुझाउनेलाई उचित पुरस्कारको व्यवस्था गरिने जानकारी दिएका छन्। बालेन शाह सहभागी कार्यक्रममा यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, कुनै जानकारी भए ९८४८४९४१४१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।






























