
सुदूरपश्चिम भ्रमणमा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहले मंगलबार कैलाली–४ का उम्मेदवार खेम राज कोइरालासँग करिब पाँच मिनेटको छोटो भेटवार्ता गरेका छन्। भेटमा बालेनले क्षेत्रको वस्तुस्थिति, मुख्य समस्याहरू र जनजीविकासँग जोडिएका मुद्दाहरूका बारेमा चासो राखेका थिए।

कोइरालाका अनुसार बालेनले सुदूरपश्चिम पछाडि भएकाले फरक खालका योजना ल्याउनुपर्ने सुझाव दिएका छन्। उनले निर्वाचनमा फोकस गर्दै जनताको पीडा र आवश्यकताका विषय उठाउन निर्देशन दिएका छन्। बालेनले कोइरालालाई क्षेत्रीय योजना तयारीका लागि मार्गनिर्देशन गर्दै, “तपाईंले योजना बनाएर ल्याउनु भयो भने हामी त्यसलाई मजाले स्विकारेर अगाडि बढाउँछौं” भनेका छन्।

कोइरालाले भेटमा क्षेत्रीय चुनावको अवस्था बुझाइ र जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। उनले बालेनलाई ढुक्क पार्दै बताए, “मैले मजाले जितिन्छ रिपोर्टिङ गरेको छु, एक सिट पनि गुम्न दिन्न।” भेटवार्ताले आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको रणनीति र तयारीलाई थप स्पष्ट बनाएको छ।

































