
पश्चिमी न्यून चापीय प्रणाली आज साँझ प्रवेश गरेको छ, जसका कारण पश्चिम नेपालका केही क्षेत्रहरूमा वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल वैतडी र दार्चुला, चाँदनी दोधारामा वर्षा सुरु भइसकेको छ भने डोल्पा र हुम्लामा हिमपात भइरहेको छ।

यो प्रणाली राति पूर्वतर्फ सर्दै जाने भएकाले थप वर्षा र हिमपात हुने सम्भावना छ। बुधबार बिहानदेखि देशभर नै बादल लाग्ने र काठमाडौँमा हल्का–मध्यम वर्षा हुने अपेक्षा गरिएको छ। प्रणालीको असर पूर्वका क्षेत्रहरू, जस्तै कोशी र मधेशमा अलिकति कम पर्ने सम्भावना छ।
पछिल्लो एक घण्टामा दार्चुला र बैतडीमा क्रमशः शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ। विभागको जानकारी अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्नेछ। यी क्षेत्रका धेरै स्थानमा मध्यम हिमपात/वर्षा, केही स्थानमा भारी हिमपात र लुम्बिनी तथा सुदूरपश्चिमका थोरै क्षेत्रहरूमा मेघगर्जन र चट्याङको सम्भावना रहेको छ।
बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्नेछ, बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल रहनेछ। मध्यम वर्षा र हिमपातका संभावना विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा देखिने विभागले जनाएको छ।






























