
बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत क्षेत्रमा निरन्तर हिउँ परेको हो। हिमपातसँगै अत्यधिक चिसो बढेपछि दैनिक जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन्।

हिमपातले एकातर्फ चिसो बढाएर समस्या सिर्जना गरे पनि किसान भने आशावादी देखिएका छन्। स्थानीय राजबहादुर टेरका अनुसार हिमपातपछि गहुँलगायत हिउँदे बाली राम्रो सप्रने भएकाले किसान ढुक्क भएका छन्।

यस्तै, ढोरपाटनबाट प्राप्त जानकारीअनुसार ढोरपाटनसहित बागलुङ जिल्लाका उच्च पहाडी भूभागमा पनि गए रातिदेखि भारी हिमपात भइरहेको छ। हिमपातले ढोरपाटन उपत्यका र आसपासका क्षेत्र सेताम्मे बनेका छन्। चिसोका कारण धारामा पानी जमेको छ भने निरन्तर हिउँ परिरहेकाले स्थानीयको आवतजावतमा कठिनाइ भएको छ।

ढोरपाटनसँगै निसीखोलाका रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्रमा पनि हिमपात भएको जनाइएको छ। प्रतिकूल मौसमका बाबजुद किसानले हिमपातले बाली उत्पादनमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेका छन्।
































