
कैलालीको अत्तरियाबाट दुग्ध विकास संस्थान (डीडीसी) धनगढी–१५ कनरीमा स्थानान्तरण गरिएको छ। अत्तरियामा आवश्यक जग्गा उपलब्ध नहुँदा डीडीसीले आफ्नो कार्यालय र कारखाना धनगढी सार्ने निर्णय गरेको हो। पुस ३० गतेदेखि धनगढीबाट उत्पादन, दुग्ध संकलन, वितरण र प्रशासनिक कार्य पूर्ण रूपमा सुरु भएको डीडीसीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित जडीबुटी प्रशोधन केन्द्रको गोदामलाई दुग्ध कारखानाका लागि उपयुक्त बनाउँदै फाउन्डेसन निर्माण गरी करिब ८ लाख रुपैयाँ खर्च गरिएको थियो। आयोजनाका प्रमुख निरन्जन भट्टराईका अनुसार कारखाना हाल पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
अत्तरियामा कार्यालय र कारखाना सार्ने क्रममा स्थानीय र केही जनप्रतिनिधिले विरोध गर्दै तालाबन्दी गरेका थिए। पुस १४ गते केही मेसिन स्थानान्तरण गर्दा अवरोध भएको थियो। डीडीसीले अत्तरियाबाट केही मेसिन सुरक्षित तरिकाले सारिसकेपछि धनगढीमा सम्पूर्ण मेसिन र कार्यालय ल्याएर उत्पादन सुरु गरेको हो।


स्थानान्तरणपछि कारखानामा तयारी दूध, दही, मही, घ्यु, पनिर, आइस्क्रिम, लस्सी लगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेको छ। उत्पादन गरिएको सामग्री डीडीसीका बिक्री केन्द्रमार्फत बजारमा बिक्री भइरहेको छ।
डीडीसीले जनाएको छ कि धनगढीमा स्थान उपलब्ध भएपछि भवनसहित आवश्यक संरचना तयार भएको र बजारभन्दा सस्तो दरमा कारखाना सञ्चालनमा आएपछि दुग्ध व्यवसायलाई थप गति मिल्ने विश्वास गरिएको छ। यसले कैलाली जिल्लामा दुग्धजन्य उत्पादन र वितरण प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।
































