
बाजुरामा मंगलबार रातिदेखि पुनः वर्षा र बाक्लो हिमपात भएको छ। गत शुक्रबार पनि पहिलो पटक हिमपात भएको थियो। निरन्तरको मौसम बदलीसँगै उच्च हिमाली तथा लेकाली क्षेत्रहरू सेताम्मे बनेका छन्।

बाजुराका ९ वटै स्थानीय तहमा हिमपात जारी छ। बाक्लो हिउँ परेसँगै जनजीवन कष्टकर बनेको छ। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको छ भने पोरखेलेक क्षेत्रमा अत्यधिक हिउँ जम्दा सवारी साधन ठप्प भएका छन्। विद्युत र टेलिफोन सेवा समेत प्रभावित छन्।
हिमपातले किसानलाई भने राहत दिएको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीका अनुसार वर्षासँगै हिउँदे बालीनाली, विशेषगरी सुक्न लागेको गहुँ बाली राम्रोसँग सप्रिने अवस्थामा छ। गहुँसँगै चैतमा लगाउने धान बालीका लागि पनि मौसम अनुकूल भएको छ।


अत्याधिक हिमपात र चिसोका कारण वन्यजन्तु तलतिर झरेका छन्। डिभिजन वन कार्यालयले वन्यजन्तुको चोरी र अवैध शिकारी नगर्न स्थानीयलाई आग्रह गरेको छ।
हिमपातसँगै प्रकृति सेताम्मे भएको छ र पहाडी क्षेत्रहरू हिउँको घुम्टोमा सजिएका छन्। यसले किसानलाई कृषि उत्पादनमा आशा दिएको छ भने जनजीवनमा असुविधा थपिएको छ।
































