
कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। थारु तथा राना थारु गोदावरी नगर भलमन्सा (बरघर) समितिको आयोजनामा माघ १६ गतेदेखि १८ गतेसम्म तीन दिन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ।

थारु तथा राना थारु समुदायको मौलिक संस्कृति, चालचलन र जीवनशैलीको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समितिका अध्यक्ष मान बहादुर चौधरीले जानकारी दिए। उनका अनुसार महोत्सवले समुदायबीच आपसी सद्भाव र एकताको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सञ्चालनका लागि गोदावरी नगरपालिकाले सहयोग गरेको छ भने हरैया गाउँ समाजले व्यवस्थापनको जिम्मा लिएको छ। स्थानीय बल बहादुर चौधरीका अनुसार पुर्खादेखि चल्दै आएका संस्कार, परम्परा र रहनसहनलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम महत्वपूर्ण छन्।
सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विविध कला–संस्कृतिको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र आकर्षक झाँकीहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रम गोदावरी–७ स्थित थारु संग्रहालय परिसरमा हुनेछ।































