
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत आजदेखि नेपाली सेनाले देशभर परिचालन सुरु गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालित भएका हुन्।

सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सेनाले बाहिरी सुरक्षा घेरा सम्हाल्नेछ भने नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री सुरक्षा गर्नेछन्। सशस्त्र प्रहरी बलले दोस्रो तहको सुरक्षा घेरा जिम्मा लिँदै सेनासँग समन्वय गर्नेछ। निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा ८० हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ४९ हजार ६ सय सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी परिचालित हुनेछन्।

निर्वाचन पूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल तथा मतगणनास्थलको सुरक्षा, विमानस्थल र कारागारलगायत संरचनाको सुरक्षा सुनिश्चित गर्न सेनाले तीन चरणमा काम गर्नेछ। १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्रमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मतदान गर्नेछन्। सुरक्षा योजनाले संवेदनशीलता अनुसार मतदानस्थल वर्गीकरण गरी उच्च सतर्कतासहित परिचालन सुनिश्चित गरेको छ।

































