
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। विशेषगरी तराईका केही स्थानमा तुवाँलो लागिरहेको छ।

आज दिउँसो तराईका केही भूभागमा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै तराईका धेरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैगरी, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने र पहाडी तथा हिमाली क्षेत्रमा मौसम खुला रहने सम्भावना रहेको छ।
महाशाखाले हिमपात, वर्षा, कुहिरो तथा हुस्सुका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यस्ता मौसमी अवस्थाले पर्यटन, पदयात्रा, स्वास्थ्य, हवाई उडान तथा सडक यातायातमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।


































