
नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावले देशभर आंशिक रूपमा बादल लागेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य रूपमा बादल लाग्नेछ भने बाँकी पहाडी–हिमाली क्षेत्र आंशिक रूपमा बादलयुक्त रहनेछ। तराई भूभाग मुख्यतया सफा रहने अनुमान छ।
उक्त प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि छ।


आज राति तराईका थोरै स्थानमा तुवाँलो देखिन सक्छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्र आंशिक बादलयुक्त रहनेछन्, बाँकी भूभाग मुख्यतया सफा रहनेछ।
पूर्वानुमान अनुसार मौसम सामान्य रहिरहने भए तापनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको संभावना कायम छ।
































