
हिन्दू धर्मशास्त्रअनुसार मंगलबार गणेश को पूजा, अर्चना र व्रत बस्नु अत्यन्त फलदायी मानिन्छ। कुनै पनि शुभकार्यको प्रारम्भमा प्रथम पूज्यका रूपमा गणेशको आराधना गर्ने परम्परा छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले व्रत तथा पूजा गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

शास्त्रमा वर्णित १६ विधिअनुसार—आह्वानदेखि आरती र परिक्रमा सम्म—एकाग्रतापूर्वक पूजा गर्नुपर्ने उल्लेख छ। मंगलबार मासु, मदिरा तथा हिंसाजन्य कार्य त्याग्नु शुभ मानिन्छ।

धार्मिक कथाअनुसार पार्वती ले दिएको दिव्य लड्डु प्राप्त गर्न गणेशले मातापिताको परिक्रमा गरी साँचो तीर्थभ्रमणको सन्देश दिए। त्यसैले लड्डु गणेशको प्रिय प्रसाद मानिन्छ। बुद्धि र ज्ञानका प्रतीक गणेशलाई ‘विघ्नेश्वर’ र ‘विनायक’ नामले पनि चिनिन्छ। उहाँको मन्त्र जप र श्रद्धाले जीवनका बाधा हट्ने धार्मिक विश्वास छ।

































