
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँका दरले वृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टितेल पहिलो वर्गमा १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४३ रुपैयाँ र तेस्रो वर्गमा १४४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागेको छ। त्यसको प्रभाव नेपालजस्ता आफ्नै पेट्रोलियम स्रोत नभएका देशमा प्रत्यक्ष पर्ने भएकाले मूल्य समायोजन गर्नुपरेको जनाइएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण आपूर्ति व्यवस्थापन र मूल्य सन्तुलन दुवै चुनौतीपूर्ण बन्दै गएको निगमले जनाएको छ।






























