
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाइएको हो।

नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले वृद्धि गरिएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ कायम गरिएको छ।


सरकारले करमा ५० प्रतिशत छुट दिए पनि घाटा न्यूनीकरण हुन नसकेको निगमको दाबी छ। हाल पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको बताइएको छ।































